काठमाडौं । २०८१ सालमा रिलिज फिल्म ‘घर ज्वाइँ’का निर्देशक अनिल बुढा मगर आगामी जेठ ८ गते फिल्म ‘मितज्यू’ लिएर आउँदैछन् । मगर समुदायको संस्कार र संस्कृतिभित्रको प्रेम कथा प्रस्तुत गरेको फिल्म ‘घर ज्वाइँ’ले ६ करोड रुपैंयाँ व्यापार गरेको थियो ।
अनिलको फिल्मको ग्राफ हेर्दा उनी ग्रामीण भेगका कथालाई टपक्क टिपेर फिल्मको फ्रेममा उतार्न खप्पिस छन् । ‘मितज्यू’को ट्रेलर हेर्दा ग्रामीण परिवेशको कथालाई उठान गरेका छन् । मित लगाउने चलन नेपालमा नौलो होइन । जनजाति होस् वा क्षेत्री–बाहुन समुदाय, पूर्व होस् वा पश्चिम, सबैतिर मित लगाउने चलन छ ।
यही नेपाली संस्कृतिलाई उनले टपक्क टिपेर फिल्मको रुप दिएका छन् । मित लगाउने संस्कार, मित लगाएपछि निभाउनु पर्ने औपचारिकता र व्यवहारले उक्त परम्पराभित्र बस्न नसकेपछिको द्वन्द्व यो फिल्ममा देखिने ट्रेलरले संकेत गरेको छ ।
‘फिल्ममा कथासँगै मनोरञ्जन पनि हुनुपर्छ भन्ने हाम्रो टिमको मान्यता छ । हामी कथासँगै हाम्रो सिनेमामा प्रेम र द्वन्द्वको पनि कुरा गछौैं,’ उनले भने, ‘जसले फिल्मलाई दर्शकले मन पराउनु हुनेछ भन्ने हाम्रो विश्वास छ । हामी हाम्रो सिनेमा कसरी दर्शकले मन पराउने गरी आफ्नै कथा लिएर आउँदै छौँ ।’
फिल्ममा सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर, खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ । फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।




