पात्र खुलाउने बाः एक योद्धा पोस्टर

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शीर्ष भूमिकामा दिब्य देब रहेको पुष्टि गरेको छ । चस्मा लगाएका उनी तनावमा देखिएका छन् । उनीसँगै छिन्, ‘बा’ कि छोरी । छोरीको भूमिकामा सुहाना थापा छिन् । उनी सामान्य पहिरनमा गाउँतिर बोक्ने झोला बोकेर तनावमा हिँडिरहेको देखिन्छ ।

घरको भित्तामा टाँसेको फाटोमा चारजनाको सानो परिवार रहेको देखाउँछ । जहाँ एक छोरी, एक छोरा र बाबु–आमा छन् । फलैँचामा बाबु र आमा बसिरहेको दृश्य र आकाशमा देखिएको हवइजहाजले परिवारको कोही एक सदस्य वैदेशिक रोजगार र वा पढ्न विदेश गएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । छेउमा मोटरसाइकल र पोस्टरको कलर मध्यमबर्गीय परिवार रहेको संकेत गर्छ ।

फिल्ममा दिब्य देबको अपोजिटमा झरना थापा रहेको पोस्टरमा रहेको फोटोले देखाउँछ । पृष्ठभूमिमा देखिने जग्गाधनी पूर्जा र छापले घर–जग्गाको लालपूर्जा राखेर छोरी वा छोराका लागि पैसा जुटाउने बुवाको कथा फिल्मले भन्ने संकेत गरेको छ । एउटै पोस्टरमार्फत सिनेमाको धेरै कुरा बाहिर आएको छ ।

फिल्म भदौ १९ गते रिलिज हुँदैछ । फिल्ममा दिब्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

फिल्मका निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् ।