काठमाडौँ । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर रिलिज भएको छ। एक मिनेट २८ सेकेण्डको टिजरमा नेपाली समाजमा रहेको छाउपडी प्रथा विरुद्धको कथा प्रस्तुत गरिएको छ। टिजरमा घरकी छोरी महिनावारी हुँदा छाउगोठमा राखिएको र एक बालिकालाई गोठमा राखेपछि परिवार तथा बुबाको समेत मुख हेर्न हुन्न भन्ने दर्दनाक घटनालाई पर्दामा उतारिएको छ । जसको विरुद्ध एक पढेलेखेका युवाले समाजलाई नै मुद्धा हालेका छन्।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको यो फिल्ममा निर्देशक आफै मुख्य भुमिकामा देखिएका छन्। फिल्ममा ओमप्रतिकका अलवा सरोज खनाल,प्रमोद दीप,अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय देख्न सकिने छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको हुन् ।
निर्माण पक्षले एक महिनाअघि फिल्मको प्रमोसनलाई सघाउन दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति रहेको एक गीत सार्वजनिक गरेको थियो ।
यस फिल्मको कार्यकारी निर्मातामा अर्जुन भुसाल, सह–निर्मातामा नम्रता भण्डारी,लाइन प्रोड्यूसर लक्ष्मण कर्मचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्। राहुल राईको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ। साथै सम्पादनमा विपिन मल्लले पनि गरेका हुन्। यस फिल्मका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको गीतमा गायक बाबुल गिरी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ।
कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।




