शम्भूजितलाई दीर्घसाधना सम्मान

काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको १३ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । काठमाडौंमा यही असार १४ गते हुने अवार्डमा संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिने भएको कार्यक्रमकी संयोजक सबिता पोखरेलले बताइन् ।

‘रातो रानी फुले झैं साँझमा’, ‘मायाले बाँध तिमी मलाई’ र ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘पूर्णिमाको रात पनि’, ‘चट्ट रुमाल क्या मालुम’ जस्ता सयौँ सदावहार गीतमा उनकै संगीत सुन्न सकिन्छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष, नेपाल टेलिभिजनको महाप्रबन्धक, नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति तथा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको मुख्य संगीत निर्देशकको उच्च ओहोदामा रहेरे कला क्षेत्रको नीतिगत विकासमा समेत दूरगामी योगदान पु¥याएका छन् ।

नेपालकै पहिलो म्युजिक भिडियो ‘मायालु तिमी टाढा’ को निर्देशन गरेर भिडियो प्रविधि भित्राउने श्रेय समेत उहाँलाई नै जान्छ । नेपाली गीत–संगीतको उत्थानमा पाँच दशक भन्दा लामो समय अनवरत र अविस्मरणीय साधनाको उच्च कदर गर्दै बहुआयामिक संगीतकर्मी शम्भुजित बास्काटालाई नगद राशि रु ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिने भएको छ ।

त्यस्तै गीतकार उन्नती बोहरा ‘शीला’लाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान’, गीतकार विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान –२०८२’, शिव परियार र गायिका कालिका रोकालाई ‘म्यूजिक खबर दशकको संगीत सम्मान’, सुशिला पौडेल र पुरुषोत्तम सानुलाई ‘म्युजिक खबर दशकको संगीत सम्मान’, पत्रकारद्वय कुबेर गिरी र गोपिकृष्ण चापागाईंलाई ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ ।

यस्तै गीतकार पुष्पा खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान २०८२’, बालकलाकार युनिश घिमिरेलाई ‘म्युजिक खबर बालप्रतिभा सम्मान–२०८२’, गायक, संगीतकार एवं गीतकार डा. रणजित झालाई ‘म्युजिक खबर संगीतकर्मी सम्मान–२०८२’ र उदयराज शर्मालाई ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान–२०८२’ प्रदान गरिनेछ ।