काठमाडौं । फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्की अनुबन्ध भएका छन् । यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।
टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ । फिल्ममा यसअघि नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी, कलाकारहरु सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् ।
पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन् । फिल्म ‘मन विनाको धन २’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो । फिल्ममा विपिनको प्रवेश भएपछि उत्साहित भएका निर्देशक वुढाथोकीले भने–‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौं । उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो । दर्शकले उहाँलाई नयाँ अवतारमा यो फिल्ममा देख्न पाउनेछन् ।’
गतबर्ष रिलिजमा आएको फिल्म ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्शन गरेको थियो ।




