अक्षरा पोस्टरमा सुशील र न्यान्सी

काठमाडौँ । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। सोमबार यस फिल्मका निर्माता सुग्रसेन् ढुङ्गानाको जन्मदिनको अवसरमा पारेर दोस्रो पोष्टर रिलिज गरिएको हो।

पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्कालाई प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमि र दुवै कलाकारको गम्भीर भावले फिल्म सामाजिक वा पारिवारिक कथावस्तुमा आधारित रहेको सङ्केत गर्छ।

पोस्टरमा दुवै कलाकार विपरीत दिशातिर फर्केर हेरिरहेका छन्, जसले उनीहरू प्रेमीप्रेमिका हुनसक्ने अनुमान लगाउन सकिन्छ। उनीहरूको अनुहारको भावले सम्बन्धमा आएको खटपट, रिस, वैचारिक दूरी, असमझदारी वा परिस्थितिले सिर्जना गरेको बाध्यता र बिछोडको मर्मलाई दुरुस्तै व्यक्त गरेको छ। पोस्टरको पृष्ठभूमिमा धमिलो रूपमा देखिएको मानिसहरूको भीडभाडले यी पात्रहरूको व्यक्तिगत जीवन र सम्बन्धमा समाजको दबाब वा भूमिका रहेको बुझाउँछ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता बस्नेत, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। त्यस्तै, बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको फिल्ममा विनय राज पौडेलको निर्देशन छ । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।