माया भनेकै यस्तो होला पोस्टरमा दिलको हल्दी डे

काठमाडौं । फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले शनिबार फिल्मको पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरको केन्द्रमा फिल्मका नायक दिल श्रेष्ठ छन् । उनी हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ ।

विवाहपूर्व मनाइने यो हल्दी डेमा उस्थिति सबै प्रफुल्ल मुद्रामा छन् । हल्दी डेका लागि सजाइएको झकिझकाउ स्पेस र उपस्थितहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको प्रस्ट पारेको छ । नम्राताको हातमा बधाइका लागि हुनेवाला दुलाहालाई दिन ल्याएको बुके छ ।

मदनकृष्ण भने ह्विलचेयरमा छन् । यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ । पूर्ण पारिवारिक यो पोस्टरले सिनेमा फेमेली ड्रामा रहेको बताएको छ । पोस्टरले सपरिवार सिनेमा हेर्न हलमा आउन दर्शकलाई अपिल पनि गरेको छ ।

अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो फिल्म भदौ २६ गते रिलिज हुँदै छ । हाल यो सिनेमा पोस्ट प्रोडक्सनको चरणमा छ ।
दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको पनि फिल्ममा अभिनय छ ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।