काठमाडौं । फिल्म ‘हली’ नेपाल प्रदर्शनमा आउनु अगावै साइप्रसमा ‘सोल्ड आउट’ भएको छ। आगामी साउन २२ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यस फिल्मको साइप्रस प्रदर्शन अधिकार शतप्रतिशत बिक्री भइसकेको निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले जानकारी दिए ।
शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्म अन्य देशमा पनि बिक्रीका लागि कुराकानी भइरहेको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको मुख्य भूमिका रहेको छ भने स्वयम् निर्देशक ओम प्रतीक पनि विशेष भूमिकामा देखिनेछन्। फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक हुन् ।
फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको उत्कृष्ट संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा संगीतकार गिरी र चर्चित गायिका शान्ति श्री परियारको दमदार स्वर रहेको छ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको सुन्दर छायांकन रहेको यस फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।
नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। देशभित्र र बाहिर एकसाथ तातिरहेको चर्चाले ‘हली’ ले हलमा राम्रो व्यापार गर्ने स्पष्ट संकेत देखाएको छ ।




