काठमाडौं । यही शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै फिल्मको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन् ।
देशकै ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सले शुक्रबारका लागि शो निकालेको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाजलगायतले पनि शो निकालेका छन् ।
देशभरका अधिकांश हलहरुले यो फिल्मको अग्रिम टिकट बुकिङ खुलाएका छन् । चलचित्रका वितरक करण श्रेष्ठ क्रेजीका अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ । उनले भोलिसम्ममा देशभरका हलहरूबाट ‘गौँथली’ले २०० भन्दा बढी शो पाउने दाबी गरेका छन् ।
कपिल रिजालले निर्देशन गरेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा। कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।




