काठमाडौंबाट आशाको छायांकन सुरु

काठमाडौं । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन काठमाडौंबाट सुरू भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको पहिलो दिनको छायांकन बिहीबारदेखि सुरु भएको हो । फिल्मकी निर्मात्री शर्मिला थापाले केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा फिल्मको बाँकी छायाँकन हुने बताइन् ।

उनले आफूहरु योजना अनुसार नै छायांकनमा निस्किएको बताइन् । ‘साउन महिनाभरमा फिल्मको छायांकन सकिने तयारी अनुरुप सुरुआत गरेका छौँ । हामी नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’ उनले भनिन् ।

छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले शट दिएका थिए । फिल्ममा शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्ममा राजिव गुरुङको निर्देशन छ । निर्देशकसँगै कथाकार रहेका गुरुङले फिल्मले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए ।
फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् । फिल्म माघ १ गते प्रदर्शन हुनेछ ।