ओएसआरले किन्यो म मदनकृष्णको डिजिटल अधिकार

काठमाडौं । भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने बायोपिक फिल्म ‘म मदनकृष्ण’को डिजिटल अधिकार ओएसआर डिजिटलले मोटो रकम खर्चेर किनेको छ । यद्यपि फिल्म निर्माण पक्ष र ओएसआरले कति मूल्यमा किनबेच भयो भन्ने केही खुलाएको छैन ।

फिल्ममा मिलन चाम्सको निर्देशन हुनेछ । ७६ वर्षिय कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्मको असारको पहिलो साता निर्माणको घोषणा गरिएको थियो ।

फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह, साथै मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोहअवरोहलाई समेटिनेछ ।

फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्यो भने अभिनेत्री केकी अधिकारी मदनकृष्णकी श्रीमति यशोदाको भूमिकामा हुनेछिन् । फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्ममा राजकुमार श्रेष्ठ निर्माता छन् ।

फिल्मको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) को डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, एलिश कार्कीको ब्याकग्राउन्ड म्युजिक हुनेछ । फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले गर्नेछ ।