बम्पर चिठ्ठाको घोषणा

काठमाडौं । स्याडो पिक्चर्सको ब्यानरमा फिल्म ‘बम्पर चिठ्ठा’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले आइतबार फिल्मको थिम पोस्टर सार्वजनिक गरेको छ । फिल्ममा बिक्की महर्जनको निर्देशन र अमित अग्रहरि तथा निशा गुइदेको निर्माण रहनेछ ।

निर्माण टिमले नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो फिल्म निर्माण गर्न लागेको जनाएको छ । थिम पोस्टरमा प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ ।

फिल्म नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियो मार्फत प्रदर्शन गरिनेछ । यसमार्फत फिल्म २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ पुग्ने विश्वास निर्माण टिमको छ । फिल्मको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् ।

यही टिमले निर्माण गरेको फिल्म ‘आउट ल’ आगामी सेप्टेम्बरमा अमेजन प्राइम भिडियो मार्फत विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।