बलिरामको ल्याङ्ग ल्याङ्गमा सन्तोष

काठमाडौं । युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानले आफ्नो नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा कलाकार सन्तोष बानियाँलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् ।

सोमबार निर्माण पक्ष र कलाकार बानियाँबीच औपचारिक सम्झौता भएसँगै उनी यो प्रोजेक्टमा जोडिएका हुन् । केही समयअघि मात्रै अर्का कलाकार रियान गिरी मुख्य भूमिकामा अनुबन्ध भएका थिए । रियान र सन्तोषले फिल्म ‘होस्टेल ३’बाट अभिनयमा डेब्यू गरेका थिए ।

रङ्गमञ्च, म्युजिक भिडियो र टेलिसिरियलमा काम गरिसकेका सन्तोषले ‘होस्टेल ३’ पछि ‘गोबर गणेश’ र ‘कस्तुरी’ मा अभिनय गरिसकेका छन् । बानियाँको अभिनय क्षमता र चरित्रमा भिज्न सक्ने खुबीका कारण उनलाई मुख्य भूमिकामा छनोट गरिएको निर्माण पक्षको दाबी छ ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस फिल्मको नारा ‘हरेक युवाको कथा’ राखिएको छ । फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् । अहिले चलचित्रको प्रि–प्रोडक्सन र कास्टिङको काम तीव्र रूपमा भइरहेको छ ।