एभरेस्ट फिल्म फेस्टिभल विजेतालाई पुरस्कार

काठमाडौं । चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेतालाई काठमाडौंमा कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ।

चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म भएको नेपाली फिल्म सप्ताहमा ‘एन्जिला’ उत्कृष्ट फिल्म घोषित हुँदै ४ हजार डलर पुरस्कार प्राप्त गरेको छ।

‘तेल भिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशक बन्दै २ हजार डलर प्राप्त गरे। ‘छक्का पञ्जा’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी ४’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उनीहरूले जनही एक हजार डलर प्राप्त गरेका छन्।

‘महाजात्रा’बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाकार र ‘होस्टेल ३’ले उत्कृष्ट सम्पादन विधामा जनही एक हजार डलर पुरस्कार प्राप्त गरे।
डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, फिल्म विज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित टोलीले फिल्मको मूल्यांकन गरेको आयोजकले जनाएको छ।

पुरस्कार वितरणका लागि हलिउड निर्देशक चेन शि–झेङसहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ अभिनेता हरिहर शर्मा प्रमुख अतिथि थिए।

फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सुले फिल्ममार्फत नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने बताए। फेस्टिभल अध्यक्ष करुण थापाले यसले नेपाली फिल्मका लागि चिनियाँ सिनेमा हल तथा ओटीटी बजारमा प्रवेशको ढोका खोल्ने विश्वास व्यक्त गरे।