काठमाडौं । द्रव्य प्रोडक्सनको व्यानरमा हास्य फिल्म ‘फलानो ढिस्कानो’निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।
पोस्टरमा कथावाचकका रुपमा चर्चामा रहेका साइग्रेस पोखरेललाई बाइकको पछाडी बसेर कतै गइरहेको देख्न सकिन्छ । जुन पोस्टर हेर्दैमा नाम जस्तै हास्य भुमिकामा उनी रहेको देख्न सकिन्छ। उनको कोटको गोजीमा चलचित्र पत्रकारको कार्ड बोकेको देखिएको छ।
अर्को पोस्टरमा भने उनी चलचित्र पत्रकारको प्रेसकार्ड बोकेका छन्। जुन हेर्दा उनी पत्रकारको भुमिकामा रहेका देखिन्छन्। जहाँ उनी पठाओ बुक गर्दै गरेको देखिन्छ । जय नेपाल हलमा भएको घोषणा कार्यक्रममा साइग्रेसले भने, ‘आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो तर यो नशा रैछ। त्यसैले यो फिल्मको कथा मन परेको कारण यो फिल्ममा अनुबन्ध भएको हुँ।’
यो फिल्ममा साइग्रेसका अलवा अन्य कलाकारहरुको नाम भने सार्वजनिक गरिएको छैन। निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने जानकारी दिएको छ। यस फिल्मलाई राजकुमारले निर्देशन गर्न लागेको हुन्। उनका अनुसार यो फिल्म दसैंपछि छायांकनमा जानेछन्।




