काठमाडौं । कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले भावनात्मक कथा, सामाजिक सन्देश र सशक्त पात्रहरूको प्रस्तुति मार्फत फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ।
ट्रेलरले शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवन तथा भूमिकालाई केन्द्रमा राखिएको कथावस्तुको झलक प्रस्तुत गर्छ। भावुक दृश्य, प्रभावशाली संवाद र कलाकारहरूको सशक्त अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ।
साहित्यकार तथा नाटककार विजय मल्लको नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्म आगामी साउन २२ गते देखि प्रदर्शनमा आउँदैछ ।
फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।
फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्। फिल्म एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।





