बाढी प्रभावित नुवाकोटमा रजनीको सक्रियतामा स्वास्थ्य शिविर

काठमाडौं । अभिनेत्री रजनी केसीले नुवाकोट,बिदुर नगरपालिका, बट्टारमा बाढी पीडितहरुको लागि बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो गृह जिल्ला पुगेकी उनले बाढी पीडितको निशुल्क स्वास्थ्य चेकअपका साथै आबश्यक औषधी बितरण गरिन् ।

फार्मेसिस्ट समेत रहेकी रजनी बाढी आएको दिनदेखि नै पीडितहरुको उद्धार, राहत संकलन तथा बितरणमा खटिएकी छिन् । पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा गरिएकोशिविरमा करिब साढे दुई सय बिरामीले सेवा लिएको उनले बताइन ।

पीडितहरुलाई खाध्य सामाग्री, लुगा, सरसफाइका सामान तथा बालबालिकाहरुलाई कापी, पेन्सील, किताब, चित्र पुस्तक साथै मनोबैज्ञानिक उपचार स्वरुप खेल्ने सामाग्रीहरु बितरण गरिएको उनले जानकारी दिइन ।

नुवाकोट टुप्चेकी स्थायी रजनी भदौ १० गते आएको बिनाशकारी बाढीपछि हराएकाहरुको उद्दार र राहतका लागि निकै खटिएकी थिइन । बाढीका कारण सोले बजारबाट आफ्नो मावली हजुर आमा, माइजू, भाइ, बुहारीलगायत थुप्रै आफन्तलाई गुमाएकी उनको निरन्तरको प्रयासबाट केही पीडितहरुको उद्दार सफल भएको थियो ।

आफन्तहरु गुमाउनुको पीडाका बाबजुत पनि उद्दार र राहतमा खटिइरहेकी उनले स्थानीय आशीष रिजाललगायतका सहयोगीहरुको साथले अत्यन्तै प्रभाबित उक्त स्थानमा सिबिर संचालन गर्न सम्भव भएको बताइन ।

नायिका रजनीको यही दशैमा नयाँ फिल्म ‘छ माया छ्पक्कै २’ प्रदर्शन हुदैछ ।