काठमाडौं। फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएपछि ट्रेलर प्रति भारतीय दुतावासले चासो देखाएको छ । दुतावासकै आग्रहमा फिल्मको निर्माण टोली भारतीय राजदूतावासस्थित मिलिटरी पेन्सन शाखामा पुगेको थियो ।
फिल्मको कथासँग प्रत्यक्ष जोडिएको पेन्सन पट्टा जारी हुने कार्यालयमै निर्माण टोली पुगेपछि यो भेटघाट फिल्म क्षेत्रमा चासोको विषय बनेको छ। उक्त शाखाबाट नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गरिँदै आएको छ। पेन्सन पट्टा जारी गर्ने तथा त्यसमा भएका त्रुटि सच्याउने कामसमेत यही शाखाबाट हुने गर्दछ।
ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिए पनि नेपालमा आएको विनाशकारी बाढीका कारण निर्माण पक्षले फिल्म सम्बन्धी भेटघाट तथा प्रचार–प्रसारका कार्यक्रम तत्काल रोकेकाले भेटघाट केही ढिला भएको हो ।
भेटघाटका क्रममा निर्माण टोलीले शाखाका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको थियो। निर्देशक तथा अभिनेता माओत्से गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गरे।
भेटघाटका क्रममा आफूले केही नयाँ जानकारीसमेत पाएको गुरुङले बताए। उनका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी १ लाख १९ हजार ५ सय ४ जना पेन्सन भोगी रहेका छन्। भारत सरकारले नेपालमा रहेका पेन्सन भोगीलाई वार्षिक करिब ७ हजार १ सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको उनले जानकारी पाए। यो फिल्म यही भदौ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।





