काठमाडौं । एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्ममा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै रिलिज मितिसमेत सार्वजनिक गरेको हो ।
गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको छ भने रमेश देवकोटाले लेखेका हुन् । यो गीतको सार्वजनिक भिडियोमा मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन् । गीतमा उनीहरु राधाकृष्णको भूमिकामा प्रस्तुत छन् । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन सुस्लिङको डीओपी तथा सम्पादन रहेको छ।
फिल्मको कथा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या र पारिवारिक सम्बन्धलाई केन्द्रमा आधरित रहेको निर्माण टिमले जनाएको छ । मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा सयनम अधिकारीको लेखन तथा निर्देशन छ । फिल्ममा काठमाडौंको बाहिरी चमकभित्र लुकेको अँध्यारो संसार, मानव तस्करी, अपहरण, हत्या र अपराधको जाललाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले बताए ।
फिल्ममा गजित बिष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुरदेखि पर्साको ठोरीमा गरिएको हो । फिल्ममा पवन सुस्लिङको छायांकन तथा सम्पादन, राजु लामा र मिस्टर काजीको द्वन्द्व, रवि भुजेलको सहायक निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी, सम्राट न्यौपाने संगीत निर्देशन छ ।
कमल थिङ निर्माता रहेको फिल्ममा मिलन कटवाल र शम्भु श्रेष्ठले प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्। यो सिनेमालाई सिंहदेवी प्रोडक्सनले वितरण गर्नेछ ।







