काठमाडौं । फिल्म ‘ए मरो हजुर ५’को छायांकन पशुपतिबाट सुरु भएको छ । २५ दिनको सेड्युलसहित शुक्रबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो ।
गत साउन २९ गते फिल्म निर्माण टिम ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेर बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र गएको थियो । जहाँ उनीहरूले फिल्मको केही सिन छायांकन गरेका थिए । त्यसबेला बडीमालिकाबाट नै नियमित छायांकन गर्ने तयारी थियो ।
फिल्ममा झरना थापाको निर्देशन छ भने अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।
फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ । ‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी छन् ।
फिल्मको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ । संगीत संयोजन उदय राज पौडेलले गर्नेछन् ।
फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् । यो सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ ।








