काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । शुक्रबार फिल्मको मुहुर्त गरेसँगै छायांकन पनि सुरु भएको हो । फिल्मको पाँचखाल, पनौती र काठमाडौंमा छायांकन हुनेछ । निर्माण पक्षका अनुसार यो फिल्म आगामी चैत ४ गते रिलिज हुनेछ ।
फिल्ममा मिलन चाम्सको निर्देशन रहनेछ । फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । अभिनेत्री केकी अधिकारीले भने मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् । अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । हरिवंश मदनकृष्णको कलाकारिताको जोडी हुन् । अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।
निर्देशक चाम्सले मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर फिल्म निर्माण हुने बताए । फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको फिल्म राजकुमार श्रेष्ठले निर्माण गर्दैछन् । फिल्मलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।








