काठमाडौं । गीतकार वल्लभ कट्टेलद्वारा लिखित गीति एल्बम ‘गन्तव्य’ तथा शीर्ष गीत ‘हाम्रो यात्राको गन्तव्य’को श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ ।
गीतकार संघ नेपालको आयोजनामा शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री, कवि तथा गीतकार एवं गीतकार संघ नेपालका सल्लाहकार एसपी कोइराला, संघका अध्यक्ष बसन्त वित्यासी थापालगायतले एलबम र श्रव्यदृश्य सामाग्री सार्वजनिक गरे ।
गीतकार वल्लभले आफ्नो सिर्जना यात्रा र ‘गन्तव्य’ एल्बम निर्माणको पृष्ठभूमिबारे धारणा राखेका थिए । संगीतकार शंकर थापा ‘स्माइल’ले एल्बमका गीतहरूको संगीत पक्षबारे प्रकाश पारेका थिए । संगीतकार सन्तोष श्रेष्ठले एल्बम तथा गीतकार कट्टेलका सिर्जनाबारे समीक्षा गर्दै गीत–संगीतको साहित्यिक र भावनात्मक पक्षमाथि चर्चा गरेका थिए ।
गीतकार कोइरालाले पहिलो एल्बम भएता बल्लभजीको सार्वजनिक गीतहरुमा कहि कतै पनि नयाँ गीतकारको आभाष नभेटिएको बताए ।
समारोहमा ‘हाम्रो यात्राको गन्तव्य’ गीतको भिडियोसँगै एल्बममा समावेश चार गीतका मुखडा श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो । भिडियोको निर्देशन तथा सम्पादन युवराज अधिकारीले गरेका छन् भने मनोज वि.के. र पूजा जिसीले अभिनय गरेका छन् ।
सार्वजनिक गीतहरुमा गायक–गायिका अञ्जु पन्त, जगदीश समाल, प्रविन बेडवाल, सुरेश लामा तथा इस्माइल दासको स्वर रहेको छ । एल्बमका निर्माता सैलु केसी हुन् भने प्रस्तुतकर्ता आदिम कट्टेल रहेका छन् ।







