बक्स अफिसमा सञ्जूको रेकर्डै रेकर्ड

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ले भारतीय बक्स अफिसमा आठ नयाँ रेकर्ड राखेको छ । राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्मले कलेक्सनदेखि दर्शकको चापसम्मका अनेकौं रेकर्ड राखेको हो । गत शुक्रबारबाट रिलिज फिल्मले रिलिजको चौथो दिनमा १ सय ४५ दशमलब ४१ करोड भन्दा बढी कलेक्सन गरिसकेको छ । फिल्मले रिलिजको दिन ३४ दशमलब ७५ करोड, शनिवार ३८ दशमलब ६० करोड, आइतबार ४६ दशमलब ७१ करोड र सोमबार २५ दशमलब ३६ करोडको कलेक्सन गरेको हो ।

अभिनेता रणवीर कपुर शीर्ष भूमिकामा रहेको फिल्मले विना कुनै विदा विकेण्डमा सबैभन्दा बढी कमाई गर्ने पहिलो फिल्मको रुपमा रेकर्ड कायम गरेको छ । फिल्मले चार दिनमा आठ वटा नयाँ रेकर्ड पनि राखेको छ । फिल्म ‘सञ्जू’ यसअघि फिल्म ‘बाहुबली’ले एकैदिन सर्वाधिक कलेक्सनको राखेको रेकर्ड पनि तोडिदिएको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘बाहुबली’ले प्रदर्शनको तेस्रो दिनमा ४६ दशमलब ५० करोडको कलेक्सनको रेकर्ड राखेको थियो । तर ‘सञ्जू’ले तेस्रो दिन ४६ दशमलब ७१ करोडको कमाई गर्दै ‘बाहुबली’को एक दिने कलेक्सनको रेकर्ड तोडेको छ । भारतमा कुनै पनि फिल्मले एक दिनमा सर्वाधिक कमाई गरेको यो नयाँ रेकर्ड हो ।

राजकुमारको फिल्म वर्षको ‘हाइएष्ट ओपनिङ विकेण्ड फिल्म’ पनि बनेको छ । फिल्मले पहिलो दिन ३४ दशमलब ७५ करोडको कमाई गर्दै फिल्म ‘रेस ३’ र ‘बागी २’को कमाई रेकर्ड पनि तोडिदिएको छ । सलमान खान अभिनित फिल्म ‘रेस ३’ले पहिलो दिन २९ दशमलब १७ र टाइगर श्राफ अभिनित ‘बागी २’ ले २५ दशमलब १० करोडको कमाई गरेको थियो । बलिउडमा सर्वाधिक चर्चामा रहेको फिल्म ‘पद्मावत’को ओपनिङ कमाई १९ करोड रुपैंयाँ थियो ।  निर्देशक सञ्जय लिला भन्सालीको फिल्म ‘पद्मावत’ले १ सय १४ करोडको कमाई गर्दै सबैभन्दा बढी विकेण्ड ओपनरको रेकर्ड राखेको थियो । यो फिल्मको विकेन्ड पाँच दिनको थियो । तर यो रेकर्डलाई फिल्म ‘सञ्जू’ले ३ दिनमै १ सय २० दशमलब ०६ करोडको कलेक्सन गर्दै तोडेको छ । टप विकेण्ड ओपनरको लिष्टमा पहिलो स्थानमा आएको फिल्मले सलमानको फिल्म ‘रेस ३’लाई १ सय ६ दशमलब ४७ करोडको कमाईसँगै तेस्रो स्थानमा झारिदिएको छ ।

रणवीरको करियरमा सबैभभन्दा बढी ओपनिङ गरेको फिल्मका रुपमा सन् २०१३ को ‘वेशरम’ थियो । यो फिल्मले पहिलो दिन २१ दशमलब ५६ करोड कमाई गरेको थियो । रणवीरको खातामा ‘सञ्जू’ले पहिलो दिनमै आफ्नो रेकर्ड तोडिदिएको हो । रणवीरको फिल्म ‘ये जवानी है दीवानी’ उनको करियरको विकेण्डमा सर्वाधिक कमाउने फिल्म हो । बक्स अफिस इण्डियाका अनुसार फिल्मले पहिलो हप्तामा ६१ दशमलब ८७ करोडको कमाई गरेको थियो । यो रेकर्डलाई ‘सञ्जू’ले ३ दिनमै ब्रेक गरिदिएको छ ।

निर्देशक राजकुमारको कुरा गर्दा उनको करियरमा अनुष्का शर्मा र आमिर खान अभिनित फिल्म ‘पीके’ सबैभन्दा बढी ओपनर फिल्म हो । तर ‘सञ्जू’ले राजकुमारको यो सफलतामा एक कदम अगाडि बढ्दै उनलाई त्यो भन्दा बढी ओपनर फिल्मको सफलता दिएको छ । ‘पीके’को पहिलो दिनको कमाई २५ दशमलब ४५ करोड थियो भने ‘सञ्जू’को कमाई ३४ दशमलब ७५ करोडको छ । बक्स अफिसमा ‘सञ्जू’को विकेण्ड कमाई १ सय २० करोड छ । यो फिल्मले हिरानीको पछिल्लो फिल्म ‘पीके’को रेकर्डलाई पनि तोडेर नयाँ रेकर्ड कायम गरेको छ । ‘पीके’को ओपनिङ विकेण्ड कमाईइ ९३ दशमलब ८२ करोड थियो ।
फिल्मले भारतसँगै विदेशमा पनि लोकप्रियता कमाएको छ । दुबईमा फिल्म प्रतिको क्रेज देखेर सरकारले २४ सैं घण्टा फिल्म हल खुला राख्न अनुमति नै दिएको छ । दुबईमा बिहीबार फिल्म रिलिज हुने नियम भए पनि ‘सञ्जू’ चाहिँ शुक्रबार नै रिलिज भयो ।

फिल्म रिलिजको दिन दुबईका फिल्म हलमा बिहानै देखि दर्शकको भीड लागेको थियो । दर्शकको भीडलाई मध्यनजर गर्दै सरकारले शुक्रबार र शनिवार २४ सै घण्टा फिल्म हल खुला राख्न अनुमति दिएको थियो । दुबईमा बिहान साढे चार बजे र बेलुकी ६ बजेको शो पनि खुला गरिएको थियो । दुबईमा कुनै पनि बलिउड फिल्मका लागि सरकार उदार भएको सम्भवत यो नै पहिलोपटक हो ।