रञ्जितको संगीतमा गुञ्जिइन स्वरुपा

काठमाडौं । भारतको मुम्बईमा बसे पनि संगीतकार रञ्जित गजमेर नेपाली सुगम संगीत र पाश्र्व संगीतका लागि परिचित नाम हो । सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो आदि लोकप्रिय फिल्मका संगीतकार यसपटक गायिका स्वरुपा आशाको स्वरमार्फत श्रोतामाझ आएका छन् ।

गजमेरद्वारा संगीतबद्ध गायिका स्वरुपाको गीत ‘नहुने केही छैन’को भिडियो सार्वजनिक भएको छ । कुसुम गजमेरको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा प्रशन्न पौडेलको निर्देशन छ । म्युजिक भिडियोमा गायिका स्वरुपा आशा आफैं प्रस्तुत भएकी छिन् ।

मौलिक नेपाली पहिरनमा सजिएर आकर्षक नृत्य गरेकी गायिकालाई बनेपा डान्स क्रिउले नृत्यमा साथ दिएका छन् । विदुर पाण्डेको छायांकनमा तयार पारिएको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।