भिएफएक्स सम्पादनमा नालापानी

काठमाडौ । नेपाली वीरताको गाथा तथा नेपाली सेनाको बहादुरीको कथा बोकेको फिल्म ‘नालापानी’ सम्पादनमा पुगेको छ । फिल्म हाल बिजिबी इन्टरनेशनलमा धमाधम सम्पादन भैरहेको छ । निर्देशक रिमेश अधिकारीका अनुसार फिल्मको सम्पादनसँगै भिएफएक्सको काम पनि भईरहेको छ । नालापानीको छायांकन आफुले सोचे जस्तै भएको र यो फिल्म नेपाली फिल्म उद्योगमा एक उदाहरणीय बन्ने उनले दाबी गरे ।

नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिइएको फिल्म विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन गरिएको छ । नालापानीमा ऐतिहासिक स्थानहरुको दृश्य आवश्यक रहेकोले जोखिम मोलेरै भएपनि ती स्थानमा छायांकन गरिएको निर्माता मनोज शाक्यले बताए । नालापानी युद्धको कथामा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्राडा धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर फिल्म बनिरहेको छ ।

फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतको अभिनय छ ।

पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको फिल्ममा रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन, रामशरण उप्रेतीको छायांकन र अच्यूत गजुरेलको भीएफएक्स छ ।