नेपाली राजदुतलाई निकेशको सम्मान

काठमाडौं । दृष्टिविहिन सृष्टि केसीको जीवनीमा आधारित बायोपिक फिल्म ‘ब्लाइण्ड रक्स’ निर्माण कम्पनी एन फिल्म्स् एन्ड क्रियसनले बेलायतस्थित नेपाली दुतावासका राजदुतल डा. दुर्गाबहादुर सुवेदीलाई सम्मान गरेको छ । क्रिएसनका अध्यक्ष निकेश लिम्बुले हालै उनलाई सम्मान गरेका हुन् ।

निर्माता निकेशले बेलायतमा नेपाली फिल्मको प्रवद्र्धन र प्रदर्शनमा उल्लेखनिय भूमिका निभाएवापत् डा.सुबेदीलाई सम्मान गरिएको बताए । कार्यक्रममा निर्माता लिम्बुले विदेशमा नेपाली फिल्मलाई माया गरिदिन नेपाली दर्शकलाई आग्रह गरेका थिए ।

बेलायतस्थित साहित्यकारहरुको पहिलो संस्था नेपाली साहित्य विकास परिषद बेलायतका अध्यक्ष कोमल मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतस्थित समाजसेवी डा. राघवप्रसाद धिताल, विविसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली, साहित्यकार सुरेश जङ शाह र पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष पत्रकार नरेश खपांगीले आफ्ना धारणा राखेका थिए ।

निर्माता लिम्बुका अनुसार फिल्म ‘ब्लाइण्ड रक्स’ आगामी जुलाई १८ मा बेलायतस्थित योर्कमा र १४ तथा १५ जुलाई मा एनसि इन्टरटेनमेन्ट सिंगापुरको संयोजकत्वमा कार्निवल्स सिनेमा सिंगापुरमा शो हुँदै छ । मिलन चाम्स निर्देशित फिल्ममा वेनिशा हमालले शीर्ष भूमिकामा अभिनय गरेकी छन् ।