१२ मासेमा जयकिशनको केटी मोह

काठमाडौं । नायक जयकिशन बस्नेतलाई प्रमुख भूमिकामा लिइएर निर्माण गरिएको फिल्म ‘१२ मासे’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार पत्रकारमाझ सार्वजनिक कमेडी फ्लेबरको ट्रेलरमा जयकिशन आफ्नै नाम लिएर ‘जयकिशनले केटीलाई होटलतिर लैजाने गरेको’ खुलाएका छन् ।

फिल्ममा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । ट्रेलरमा अधिकांश कमेडी सम्वादहरु रहेका छन् । कार्यक्रममा फिल्मका निर्देशक लय संग्रौलाले फिल्म बिशुद्ध हाँस्य प्रदान रहेको बताए । कार्यक्रममा नक्कली प्रचण्ड भनेर चिनिने फिल्मका स्क्रिप्ट लेखक तथा निर्माता प्रदीप पाठकले कमेडी प्रस्तुती समेत दिएका थिए ।

भदौ १ गते रिलिज हुने फिल्ममा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।  फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, बासु न्यौपानेले छायांकन र अनन्त घिमिरेको सम्पादन छ ।