खगेन्द्रको एक हातमा वर्षा, अर्कोमा सुरक्षा

काठमाडौं । भदौ १ गतेबाट छायांकनमा जाने फिल्म ‘गोपी’मा नायिका वर्षा शिवाकोटी पनि जोडिएकी छन् । यस अघि नै फिल्मको घोषणा कार्यक्रममा फिल्मका प्रमुख तीन कलाकार खगेन्द्र लामिछाने, अंकित खड्का र सुरक्षा पन्त सार्वजनिक भइसकेका थिए । फिल्ममा मुख्य अभिनेता खगेन्द्रले वर्षा र सुरक्षासँग रोमास गर्नेछन् । सञ्चारकर्मी दीपेन्द्र लामाको दोस्रो प्रोजेक्टका रुपमा रहेको ‘गोपी’को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको हो । ‘दुई नायिका भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने होइन् ।’ दीपेन्द्रले भने ।

खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन् । आफ्ना अघिल्ला नायिकाहरुसँग फेरि एकसाथ एउटै फिल्ममा काम गर्न पाउँदा खगेन्द्रलाई खुसी लागेको छ । ‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु,’ खगेन्द्रले भने ।

वर्षा र सुरक्षाले भर्खरै रिलिज भएको फिल्म ‘भैरे’मा सँगै काम गरेका थिए । ‘पशुपति प्रसाद’मा खगेन्द्र दाइसँग काम गरे पनि खासै स्क्रिन सेयर गर्न पाएकी थिइन, तर गोपीमा दर्शकले उहाँ र मेरो केमिस्ट्री अलि बढी नै हेर्न पाउनुहुनेछ,’ वर्षाले भनिन् । वर्षाको आगमनले फिल्ममा ग्ल्यामर थपिएको महसुस गर्छिन् सुरक्षा । ‘पछिल्लो समयका सुन्दर अभिनेत्रीमध्ये एक पर्छिन् वर्षा, उनी पनि ‘गोपी’मा जोडिएको खबरले म उत्साही छु,’ सुरक्षाले बताइन् ।

फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता छन् । फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको कार्यकारी निर्माता श्रीधरले बताए । न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् । कल्याणको संगीत रहेको गीत शिव परियारले गाएका छन् भने अरु दुई गीतका गायकगायिका टुंगो लाग्न बाँकी छ ।