सामाजिक सेवामा पञ्चायत

काठमाडौं । चलचित्र विकास बोर्डबाट २०७४ सालबाट विशेष चलचित्रसहित दुई लाख रुपैंयाँ पुरस्कार पाएको फिल्म ‘पञ्चायत’ विभिन्न देशमा प्रदर्शन हुने भएको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित सन्फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को फिल्म महोत्सव’मा विदेशी भाषाको उत्कृष्ट चलचित्र र नायिक निता ढुंगानाले उत्कृष्ट नायिकाको अवार्ड जितेको फिल्म कतार, अष्ट्रेलिया, युएईलगायतका देशमा प्रदर्शन हुन लागेको हो ।

फिल्म शुक्रबार मकवानपुर जिल्लामा एम्बुलेन्स सेवा सुचारु गर्ने उद्देश्यले मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा कतारमा प्रदर्शन हुदैछ । यस प्रदर्शनबाट उठेको पैसा मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने फिल्मका निर्माता सुशान्तकुमार श्रेष्ठले बताए । ग्रान्ड मलसँगै रहेको एसियन टाउन सिनेमा हलमा शुक्रबार बेलुका फिल्मको प्रदर्शन गर्नको लागि सुशान्त कतार पुगिसकेका छन् ।

त्यस्तै अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा पनि यो फिल्म प्रदर्शन हुँदैछ । अस्ट्रेलियाको प्रदर्शनबाट उठेको केहि पैसा सामाजिक कार्यमा लगाउने फिल्मका प्रस्तुतकर्ता गणेश गिरीले बताए । अगस्ट १२ आईतबार बेलुका ६ बजे सिभिक थिएटर हस्टभिल्लीमा फिल्मको प्रदर्शन हुँदैछ । अस्ट्रेलियामा फिल्मलाई विभुषण जोशी र दिनेश पोखरेलले प्रदर्शनको जिम्मा लिएका छन् ।

युएईका विभिन्न सहरमा चेपाङ बालबालिकाहरुको सहयोगार्थ प्रदर्शन हुँदैछ । चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २०, २१ र २२ मा युएईको अलएन, दुबई र अबुधाबीमा बिशेष प्रदर्शन हुदैछ। युएईको प्रदर्शन बाट उठेको पैसा चितवनमा रहेको चेपाङ बालबालिकाहरुलाई लागि कार्य गर्दै आएको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने चितवन समाज युएईका महासचिब तथा संचारकर्मी रमेश क्षितिजले बताए । यहाँ कलाकार सरोज खनाल र फिल्मका निर्माता तथा सञ्चारकर्मी रबि अधिकारी जानेछन् । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहान्वी बस्नेत, गिता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।