धूम ३ मा अशोक दर्जीको गीत

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ब्वाईका रुपमा परिचित बाल गायक अशोक दर्जीको गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’लाई दर्शकले अब फिल्ममा पनि हेर्न पाउने भएका छन् । नायक जयकिशन बस्नेतको लेखन, निर्माण र निर्देशनमा बनिरहेको फिल्म ‘धुम ३’ मा यो गीत समावेश हुन लागेको हो ।

यो गीतमा अशोकले संगीतकार तथा गायक टंक बुढाथोकीसँग गायनमा सहकार्य गरेका छन् । टंकलाई जयकिशनले नै फिल्म ‘जन्जीर’मार्फत नेपाली फिल्ममा डेब्यु गराएका थिए । उनले गाएको गीत ‘किन गाह्रो गाह्रो हुन्छ कुनै पल’ निकै चर्चित बनेको थियो ।

टंकले नै संगीत गरेको फिल्म ‘धूम ३’को गीत ‘तिम्रो हेराईले यो मनलाई’लाई दुई लाख बढी दर्शकले हेरिसकेका छन् । नायक जयकिशनका अनुसार गीतको अधिकार उनीसँग भएकोले २ दिनभित्र छायांकन गरी फिल्ममा राखिने बताए । उनको फिल्म असोज ५ गते रिलिज हुँदैछ ।