लताको स्टुडियोमा राजेशपायलको दर्शन नमस्ते ४

काठमाडौं । भर्सटायल गायक राजेशपायल राई एल्बम ‘दर्शन नमस्ते’को चौथो सिक्वेल ‘दर्शन नमस्ते ४’का गीत रेकर्ड गर्न भारतको मुम्बई उडेका छन् । उनको करियरको सबैभन्दा महत्वपूर्ण प्रोजेक्टका रुपमा रहेको यो एल्बमका लागि गीत रेकर्ड गराउन राजेशपायल बिहीबार मुम्बई गएका हुन् ।

गायक राईका अनुसार उनले एल्बमका गीत मुम्बईमा रहेको भारतीय चर्चित गायिका लता मंगेशकरको स्टुडियोमा रेकर्ड गराउने छन् । ‘यो मेरा लागि महत्वपूर्ण अवसर हो । त्यो स्टुडियोका प्रविधिमार्फत एल्बमलाई अझ राम्रो र गुणस्तरीय बनाउनेछु ।’मुम्बई उड्नु अघि राजेशपायलले भने ।

नेपाली सांगीतिक क्षेत्रमा ‘राई इज किङ’का रुपमा समेत परिचित राजेशपायलको एल्बममा यसपटक टिका चाम्लिङ, राई नबिन, बसन्त सापकोटा, महेश खड्का र डा. कृष्णहरि बरालको शब्द समेटिनेछन् । यी गीतमा अम्बर गुरुङ, रञ्जित गजमेर, उत्तम जंग लिम्बु, बसन्त सापकोटा, महाराज थापा, सन्तोष राज, अर्जुन पोखरेल, पारस मुकारुङ, बादल लिम्बु, विनोद खम्बु र महेश खड्काको संगीत हुनेछ ।

मुम्बईमा गीतको रेकर्डपछि राजेशपायल विश्वव्यापी संगीत यात्राका लागि आबुधाबी पुग्नेछन् । जहाँ आगामी अगष्ट २१ मा उनको कन्सर्ट हुँदैछ ।