कामनासँग निमाको तिमीले त मायामा

काठमाडौं । बहुप्रति प्रथामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘छिरिङ’को दोस्रो गीत ‘तिमीले त मायामा’ सार्वजनिक भएको छ । यशकुमारको संगीत, शब्द र स्वर रहेको गीतमा विन्दु परियारले यशलाई गायनमा साथ दिएकी छन् ।

गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेलको अभिनय छ । यो गीत हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीमा खिचिएको छ ।

फिल्म ‘कागबेनी’ पछि गायक निमाको यो कमव्याक हो । गीतमा निमालाई अमेरिकाबाट फर्किएका युवकको रुपमा देखाइएको छ । घोडा चढेका यशकुमारलाई गीतले अन्तिममा युवतीको प्रेम चासोको रुपमा प्रस्तुत गरेको छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्वलाई फिल्ममा देखाइएको छ । यो फिल्ममा गायक यशकुमारको डेब्यु निर्देशन छ ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।