जुनताराको कुरा गर्दै छिरिङ जोडी

काठमाडौं । गायक तथा अभिनेता यश कुमारको निर्देशन तथा अभिनय रहेको फिल्म ‘छिरिङ’ को नयाँ गीत ‘ए कान्छा’ सार्वजनिक भएको छ । अरुणा लामा र रुद्र गुरुङको दशक अगाडिको यो गीतको पहिलो हरफलाई रिमेक भर्सनमा ल्याइएको हो ।

नयाँ भर्सनमा गायक यशलाई गायिका सुनिता थेगिमले गायनमा साथ दिएकी छन् । गीतमा पासाङ ब्याङबल र यशको शब्द छ भने अम्बर गुरुङ र यशले संगीत भरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा यश कुमार र नायिका कामना भुजेलले फिचरिङ गरेका छन् ।

आगामी असोज १२ गतेबाट प्रदर्शनमा आउने फिल्ममा बहुपति प्रथाको विषयलाई उठान गरिएको छ । फिल्ममा गायक निमा रुम्बाको पनि अभिनय छ । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।