धिरजको जुत्ता प्रसंगले विद्यार्थी रोमाञ्चित

काठमाडौ । हरेक गायकका लागि आफ्नो संघर्षशील जीवन प्रेरणादायी भए पनि उसका कुरा सुन्नेका लागि रोमाञ्चक हुन्छ । गायक धिरज राईका लागि शुक्रबा यस्तै रह्यो । राजधानीको आलोक विद्याश्रममा शुक्रबार ‘आलोक अन्तर स्कुल म्युजिक प्रतियोगिता’ आयोजना हुँदा त्यहाँ निर्णायक बनेका उनले आफ्ना संघर्षका दिन सुनाउँदा विद्यार्थी रोमान्चित बनेका थिए ।

धिरजले पहिलो गीत रेकर्ड गराउनका लागि जुत्ता बेचेको प्रसंग उप्काउँदा विद्यार्थीहरु रोमाञ्चितसँगै प्रभावित पनि बनेका थिए । कार्यक्रममा रुपिज इन्टरनेशनल स्कुलले ‘आलोक अन्तर स्कुल म्युजिक प्रतियोगिता’को उपाधि जितेको छ । आलोक विद्याश्रममा शुक्रबार आयोजित प्रतियोगितामा रुपिजको तर्फबाट सहभागी विद्यार्थीहरुले प्रस्तुत गरेको गायन सहितको म्युजिकले निर्णायकहरूको मन जितेको हो ।

काठमाडौ उपत्यकाका दश स्कुल सहभागी रहेको प्रतियोगितामा एलआरआई स्कुल दोस्रो र आलोक विद्याश्रम तेस्रो भयो । निर्णायकद्वय गायक धिरज राई र सुशिला आर्ट एकेडेमीकी संचालक युलिया कोइरालाले गीत गाउने शैली, अर्केष्ट्रा, प्रस्तुत गर्ने टिमको क्षमता र प्रभावकारिता लगायतका विषयका आधारमा विजेता घोषणा गरेका थिए ।  आलोक विद्याश्रमले प्रस्तुत गरेको गीतमार्फत दिइएको सन्देशको निर्णायकहरुले थप प्रसंशा गरेका थिए । कार्यक्रममा गायक धिरजले आफनो जीवनकालका चर्चित गीतहरु पनि प्रस्तुत गरेका थिए ।

आयोजक आलोक विद्याश्रमकी प्रिन्सिपल बनिता मित्तल अग्रवालले यस्ता खाले प्रतियोगिताले विद्यार्थीको क्षमता वृद्धीमा महत्वपुर्ण भुमिका खेल्ने बताइन् । उनले आगामी दिनमा यो प्रतियोगितालाई अझ ब्यापक र राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको जनाइन् । आलोक विद्याश्रमले विगत देखी नै गीत संगित लगायत विभिन्न विषयमा यस्ता खाले प्रतियोगिता आयोजना गर्दै आएको छ ।