जसिता फकाउन प्रदिपको संगीत सहारा

काठमाडौं । गत असोज ११ गतेबाट फ्लोरमा गएको फिल्म ‘लभ स्टेसन’को सुटिङस्थलबाट निर्माण युनिटले दुई तस्बिर सार्वजनिक गरेको छ । दार्जिलिङमा छायांकनरत यो फिल्मको दुई सार्वजनिक तस्बिरमा एक तस्बिरमा नायक प्रदिप खड्काले नायिका जसिता गुरुङलाई गीतारको सहयोगले फकाउँदै गरेको देख्न सकिन्छ । अर्को तस्बिरमा प्रदिप एकोहोरिएर हिँडेको देख्न सकिन्छ ।

फिल्मका निर्माता गोविन्द शाहीका अनुसार फिल्मको ५० प्रतिशत छायांकन सकिएको छ । ‘हामीले दार्जिलिङको रमणीय लोकेशनमा दुई गीतसहित ५० प्रतिशत छायांकन सकेका छौं,’गोविन्दले भने,‘तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं ।’

दर्शकले प्रदिप र जसिताको जोडीलाई फिल्म ‘लिलि बिली’पछि यही फिल्ममा देख्न पाउनेछन् । उज्जवल घिमिरे निर्देशित फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।