ब्रुस लीका गडफादर रेमण्ड रहेनन्

हङकङ(एजेन्सी) । विश्वविख्यात मार्सल आर्टस् खेलाडी ब्रुस लीलाई फिल्ममा डेब्यु गराउने हङकङका फिल्म निर्माता रेमण्ड चोउको ९१ वर्षको उमेरमा निधन भएको छ । उनीहरुले सन् १९७१ मा सहकार्य गरेको पहिलो फिल्म ‘दी बिग बोस’ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको थियो । उनले नै सन् १९८० मा निर्माण गरेको अर्को फिल्ममा कुङ फू स्टारका रुपमा परिचित ज्याकी च्यानलाई अभिनय गराएका थिए ।

हङकङ फिल्मको ‘गडफादर’का रुपमा परिचित चोउले झण्डै ६ सय बढी फिल्म निर्माण गरिसकेका छन् । उनले सन् २००७ मा फिल्म क्षेत्रबाट सन्यास लिएका थिए । दिवंगत अभिनेता ब्रुस लीकी छोरी सेनोनले चोउप्रति समवेदना व्यक्त गर्दै आफ्ना पितालाई मौका दिएकोमा धन्यवाद व्यक्त गरेकी छन् । ‘रेमण्ड चोउको परिवार प्रति हामी गहिरो समवेदना छ । युवा अवस्थाका ब्रुस लीलाई फिल्ममा मौका दिएर उनको सपना पुरा गर्न सहयोग गरेकोमा धन्यवाद पनि छ । समवेदना रेमण्ड’ सेनोनले समवेदना स्वरुप ट्वीट गरेकी छन् ।

चोउका साथी रोबर्ट चाउले ब्रुस लीलाई विश्वमाझ चिनाउनु हङकङलाई विश्वमाझ चिनाए सरह रहेको स्मरण गर्छन् । हङकङका प्रमुख कार्यकारी अधिकृत केरी लेमले एक विज्ञप्ति जारी गर्दै हङकङको फिल्मलाई स्वर्ण युग बनाउन उनले गरेको योगदानलाई बिर्सन नसकिने उल्लेख गरेका छन् ।

सन् १९२७ मा हङकङमा जन्मिएका चोउ फिल्म क्षेत्रमा आउनु अघि स्थानीय पत्रिकाको पत्रकार थिए । उनले लिओनार्ड हो कोन चिउङसँग मिलेर सन् १९७० मा गोल्डेन हार्भेस्ट नामक फर्म खोलेका थिए । उनले ब्रुस लीलाई लिएर सन् १९७२ मा ‘फष्ट अफ फरी’ र ‘दी वे अफ दी ड्रागन’ नामक दुई फिल्म बनाएका थिए ।

उनकै सक्रियतामा सन् १९७३ मा बनेको फिल्म ‘इन्टर दी ड्रागन’मा उनले हलिउडका निर्माता वार्नर ब्रोससँग सहकार्य गरेका थिए । हलिउड र हङकङसँग सहकार्य गर्दै निर्माण गरेको यो नै पहिलो फिल्म हो । उनले हलिउडसँग सहकार्य गर्दै सन् १९९० मा फिल्म ‘टिनेज मुटेन्ट निन्जा टर्टल्स’ बनाएका थिए । यो फिल्म कमिक बुक सिरिजबाट प्रभावित थियो । उनले सन् १९९८ हङकङकै ठूलो सम्मान ‘गोल्ड बहुनिया स्टार मेडल’ पाएका थिए । सन् २००७ मा एसियाली आर्थिक संकटको असर गोल्डेन हार्भेस्टमा पनि देखिएपछि उनले त्यो कम्पनी बेचेका थिए ।