काठमाडौं । युवा नायक सलिनमान बनियाँ आगामी चैत्र २९ गते यात्रामा निस्कने भएका छन् । उनी कुनै लामो यात्रामा नभई केशव भट्टराईद्वारा निर्माण गरिएको फिल्म ‘यात्राःए म्युजिकल भ्लग’को प्रदर्शन यात्रामा निस्किन लागेका हुन् । अर्थात यो दिन यही फिल्म रिलिज हुँदैछ ।
निर्माता केशव भट्टराईले जन्मदिनमा फिल्मको फष्टलुकसँगै रिलिज मिति सार्वजनिक गरेका हुन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्मको अफिसियल पोस्टर अभिनेता बनियाँको चरित्रलाई देखाइएको छ । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको फिल्ममा अभिनय छ ।
यही फिल्मबाट मल्लिका महतले डेब्यु गरेकी छिन् भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । निर्माता भट्टराईले फिल्मको लगानीलाई मध्यनजर गर्दै चैत २९ रोजिएको बताए । युवा पुस्ताको मित्रता र मायाको कथा बोकेको फिल्ममा केशव भट्टराई र सुशिल पोखरेलको संयुक्त लगानी छ ।
यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह–निर्माता छन् । फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।