उद्यमी बनाउन भारतका गाउँमा सुई धागा

मुम्बई(एजेन्सी) । मेक इन इण्डिया थिममा आधारित फिल्म ‘सुई धागा’मा बलिउड नायक वरुण धवन र नायिका अनुष्का शर्माले निकै अहम भूमिका निभाए । यो फिल्मको कथाले पुरै भारतलाई जोडेको चर्चा पनि बलिउडमा चल्यो । अब यो फिल्मको सन्देश भारतका गाउँ–गाउँमा पु¥याउनका लागि भारतका १२ वटा साना सहरमा फिल्म प्रदर्शन गरिने भएको छ ।

ग्रामीण क्षेत्रमा उद्यमलाई बढावा दिनका लागि फिल्मलाई १२ सहरमा देखाइन लागेको हो । फिल्म हेरेपछि दर्शकलाई पनि उद्यमको विकासमा प्रोत्साहन जुटाउन सहयोग पुगोस् भन्ने फिल्म निर्माण पक्षको चाहना छ । यो फिल्म रिलिजको समयमा विशेषत ग्रामीण क्षेत्रमा राम्रो प्रभाव परेको थियो ।

समाचार अनुसार एउटा सानो सहरमा २ सयदेखि ३ सयसम्म दर्शकले यो फिल्म हेर्नेछन् । फिल्मको मध्यप्रदेशको सीधी, कटनी, विदिशा, खंडवा र राजगढमा विशेष शो गरिनेछ । त्यस्तै राजस्थानको बान्सवाडा, चित्तौडगढ, कोटा, सिकार र पालीमा पनि फिल्मको विशेष प्रदर्शनी गरिनेछ । फिल्म देखाउनका लागि प्रदर्शकले विशेष किसिमको टेन्ट बनाएका छन् ।

शरत कटारिया निर्देशित फिल्म गत सेप्टेम्बर २८ मा रिलिज भएको थियो । फिल्मले आफै व्यापार गर्ने एक जोडीको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा वरुण धवन र अनुष्का शर्मा पति–पत्नीको भूमिकामा छन् ।