यसकारण चैत पुग्यो लभ स्टेसन

काठमाडौं । फागुनमा रिलिजको तयारी भइरहेको फिल्म ‘लभ स्टेसन’ एक महिनापछि अर्थात चैत १ मा रिलिज हुने भएको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको रोमान्स दर्शकले हेर्न पाउनेछन् ।

फिल्मका प्रस्तुतकर्ता एवम् वितरक गोविन्द शाहीले आफूले वितरण गरेको फिल्म ‘क्याप्टेन’ फागुन १७ मा, ‘साईली’ चैत १५ मा र ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुने भएपछि फिल्मको प्रदर्शन व्यवस्थित गर्न ‘लभ स्टेसन’लाई चैत १ मा पु¥याइएको बताए । उनका अनुसार फिल्म सम्पादनको अन्तिम चरणमा रहेकोले चाँडै नै डबिङको काम पनि सुरु हुनेछ । फिल्मको दुई गीतको छायांकन बाँकी नै छ ।

उज्ज्वल घिमिरे निर्देशित फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । उनले फिल्मको नाम अनुसार ‘लभ स्टेसन’ ठाउँ विशेष रहेको बताए । काफिया फिल्मस्को व्यानरमा काफिया शाही ‘क्रिसु’ र कविरविक्रम शाहीले निर्माण गरेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय छ ।

आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।