सन्दकपुरमा आप्पा दयाहाङको हावा सरर

काठमाडौं । नायक दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर फिल्म युनिटले सार्वजनिक गरेको गीतमा नायक राई खुसी मुद्रामा गाडी कुँदाउदै गरेको देखिएका छन् । उनको गाडीमा चढेकी एक महिला प्रति उनी केही आशक्त भएको हो कि भन्ने भान गीतमा देखिन्छ ।

थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको गीतमा अनमोल गुरुङको संगीत छ भने उमेश उपमाको शब्द छ । योजना प्रधानको कोरियोग्राफी रहेको गीत नेपाल–भारतको सिमानामा अवस्थित सन्दकपुरमा खिचिएको हो । सन्दकपुर इलाम जिल्लामा पर्दछ ।

फिल्मका निर्देशक अनमोल गुरुङका अनुसार फिल्मले बाबु–छोराको कथा बोल्दछ । माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म जेठ २४ मा रिलिज हुँदैछ । फिल्ममा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् ।