दर्शक तर्साउँदै अर्पणको घर

काठमाडौं । हरर कथामा फिल्म ‘घर’को घोषणा गरिएको छ । माघबाट छायांकन शुरु हुने फिल्ममा कलाका अर्पण थापाको लेखन र अभिनयसँगै निर्देशन पनि हुनेछ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्ममा ‘लभ लभ लभ र चंगाचेट’की निर्मात्री शर्मिला पाण्डेको लगानी हुनेछ । फिल्ममा सन्तोष अधिकारीको सह–लगानी रहनेछ ।

बिहिबार राजधानीमा आयोजित फिल्म घोषणा कार्यक्रममा निर्मात्री पाण्डेले डीएस डिजिटलले प्राविधिक उपकरण वितरणको साथमा फिल्म पनि निर्माण गर्ने बताइन् । फिल्मका निर्देशक अर्पणले फिल्मले दर्शकलाई पूर्ण रुपमा तर्साउने बताए ।

फिल्मका लागि २ नायिकाको खोजी भइरहेको निर्माणपक्षले जनाएको छ । डीएस इन्टरटेन्मेन्टका एक सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताएका थिए । फिल्मले एउटा ‘घर’ भित्र हुने घटनालाई सस्पेन्स शैलीमा प्रस्तुत गर्नेछ । डीएस डिजिटलमा कलाकार सुरज पाण्डे पनि आवद्ध छन् ।