दिनेशको डान्सिङ नम्बर बाँसै काटेर

काठमाडौं । सेन्टिमेन्टल गीत गाउँदै आएका गायक दिनेश गौतमले फरक शैलीको गीत ‘बाँसै काटेर’ लिएर दर्शकमाझ आएका छन् । शुक्रबार उनले गाएको डान्सिङ नम्बरको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य छ ।

भिडियो सार्वजनिक गर्दै संगीतकार तथा संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले गायनदेखि नृत्य र भिडियो निर्देशनको उत्कृष्ट नमूनाको रुपमा भिडियोलाई लिन सकिने बताए । नेपालको पहिलो सेक्सोफोन वादक शुभबहादुर सुनामले दिनेशको संगीत साधना र गायकीको प्रशंसा गरे ।  करिब दुइ दशकदेखिको संगीत यात्रामा दिनेशले गाएका गीतभन्दा ‘बाँसै काटेर’ भिन्न छ । समयको माग अनुसार केहि फरक शैलीको गीत प्रस्तुत गर्न डान्सिङ नम्बर गाएको दिनेशले बताए ।

२०५६ सालदेखि संगीतमा निरन्तर लागि परेका दिनेशका एघार वटा सांगितिक एल्बम बजारमा आइसकेका छन् । दुइ दशकको दौरानमा उनले एल्बम र चलचित्रमा गरेर दुइ सय भन्दा बढि गीत गाइसकेका छन् । दिनेशको संगीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन् । ‘पैसा कसले बनायो’ गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिना अघि मात्रै ‘फर्केर आएन मायालु’ गीत सार्वजनिक भएको थियो ।

कोशिस क्षेत्रीको शब्द संगीत रहेको ‘बाँसै काटेर’ गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् । ‘भिमफेदी गाइज’का टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती ‘फुलन्देकी आमा’ को रहेको छ । म्युजिक भिडियोमा ‘आरी डान्स’, ‘थाली डान्स’ देख्न पाइन्छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् । युट्युबमा सार्वजनिक भएको पहिलो दिनमै गीतले उत्साहपूर्ण दर्शक बटुल्न सफल भएको छ ।