काठमाडौं । स्कुले जीवनदेखि नै नाटकमा सक्रिय जनकपुरका रविन्द्र झा कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’को फ्यान थिए । जीवनमा एक पटक भए पनि सन्तोषसँग काम गर्ने उनको धोको ‘हिजो आजको कुरा’ बन्द भएपछि पुरा गर्न पाएनन् । यो सिरियलमा काम गर्न नपाए पनि रविन्द्रलाई कुनै गुनासो छैन ।
‘सन्तोष पन्त दाईसँग हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर थियो तर त्यो कार्यक्रम बन्द भयो । तर फिल्म चौका दाउमा उहाँसँग काम गरेर हिजो आजका कुरामा अभिनय गर्ने धोको मेट्न पाएँ’, उनले भने, ‘उहाँ साह्रै वरिष्ठ कलाकार भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो प¥यो र म निक्कै नर्भस भएँ । तर सन्तोष दाई यती चाँडै नजिक हुनुभयो की भोली पल्टबाट उहाँसँग काम गर्न मलाई सजिलो हुँदै गयो ।’
यो फिल्ममा सन्तोष पन्त सहित आफु, तैयब शाह, विल्सन बिक्रम राई र अजश्र ढुँगाना गरी पाँचै जना कलाकारले उर्वषी अर्थात वर्षा राउतलाई मन पराएर उनको पछि लाग्ने भूमिका निर्वाह गरेको पनि रबिन्द्रले बताए ।
पुष २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने फिल्ममा रबिन्द्रले भूपतिको भूमिका निर्वाह गरेका छन् । सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्र चौका दाउको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् । यो फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् ।