‘रणवीरको टिमले चित्त बुझ्यो’

काठमाडौं । पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । प्रियंका कार्की, मलिना जोशी, सृष्टि श्रेष्ठ, अकेशा बिष्टलगायत धेरै नामको पृष्ठभूमि सौन्दर्य प्रतियोगिता नै छ । अब यो सूचीमा नायिका सुबेक्षा खड्काको नाम पनि जोडिँदैछ ।

सन् २०१२ मा ‘मिस इन्टरनेशनल नेपाल’को उपाधिकी सुबेक्षाले त्यसयता धेरै फिल्मबाट अभिनयको अफर पनि पाइन् । तर डेब्यु अभिनय गर्ने साइत भने फिल्म ‘रणवीर’ले नै जुरायो । ‘मलाई फिल्ममा आउन मन नलागेको होइन । तर खोजिएको जस्तो फिल्म अफर आएन । म ‘मिस नेपाल’मा ‘सेकेन्ड रनर अप’ भएसँगै मलाइ अफर राम्रै आएको थियो’, उनले भनिन्, ‘म सहि समयको पर्खाइमा थिए । ‘रणवीर’को अफर आएपछि स्टोरी सुने,र टिम पनि चित्त बुझ्यो । यसैले फिल्म गरेकी हुँ ।’

फिल्मकी निर्मातामध्येको एक गोमा विष्ट थापाले आफूहरुले फ्रेस अनुहार खोजीरहेको समयमा सुबेक्षालाई भेटेको बताइन् । ‘उनले फिल्म नगर्ने भन्दा पनि राम्रो स्टोरी र टिम नपाएकी रहिछिन् । हामीले कथा सुनायौ । पढ्न पनि दियौं’, उनले भनिन्, ‘उनले फिल्म गर्छु भनेपछि काम सुरु भयो । एउटा सम्भावना बोकेको प्रतिभाको रुपमा मैले सुबेक्षालाई पाएँ ।’

लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, हरिहर शर्मालगायतको अभिनय रहेको छ ।गोविन्दसिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको फिल्ममा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको लगानी छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ मा रिलिज हुदैछ ।