बुलबुलकी स्वस्तिमाः प्रचारमा दुई, फिल्ममा एक

काठमाडौं । प्रचारको लागि नौलो शैली अपनाउँदै आएको फिल्म ‘बुलबुल’ले फिल्मकी नायिका स्वस्तिमा खड्कालाई निर्माण टिमले एउटै फ्रेममा फरक रुपमा अर्थात दुई स्वस्तिमा राखेर प्रस्तुत गरेको छ । युट्युबमार्फत सार्वजनिक सामाग्रीमा स्वस्तिमाले आफ्नै फिल्ममा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् ।

निर्देशक विनोद पौडेलले स्वस्तिमाले फिल्ममा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए । ‘पहिला दुई टिजरमा हामीले चोपेन्द्रलाई स्थापित गर्ने लक्ष्य राखेका थियौं । हामीलाई प्राप्त प्रतिक्रियाले हामी त्यसमा सफल भएको महसुस गरेका छौं । यसैगरी हामी रनकलालाई पनि परिचित गराउन चाहान्थ्यौं, रचनात्मक उपायको खोजीमा अन्तर्वार्ताको आइडिया आयो,’पौडेलले भने, ‘स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’

‘साँघुरो’का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।

भिडियोसँगै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेको छ । निर्माता अविरल थापाले माघ १ गते फिल्मको ट्रेलर सार्वजनिक गर्ने जानकारी गराए ।फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् ।