दर्शकलाई आशिष–रेवतीको यस्तो माया

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘समर लभ’ हेर्न पानमा रुझ्दै र भिज्दै आएका दर्शकलाई फिल्मका दुई प्रमुख कलाकार आशिष पिया र रेवती क्षेत्रीले हातबाट मायाको चिनो बनाउँदै धन्यवाद दिएका छन् । शुक्रबारको तुलनामा फिल्मप्रति शनिबार दर्शकको साथ उच्च थियो । पानीको समेत प्रवाह नगरी दर्शकहरु फिल्म हेर्न आएका थिए ।राजधानीको मुख्य केन्द्र मानिने गोपीकृष्णको १ हजार बढि क्षमताको ’गोपी’ पर्दा हाउसफुल बन्दा अष्टनारायण हलमा पनि सोहि प्रकारको उपस्थिती दर्शकको देखिएको थियो ।

मल्टिप्लेक्स तर्फ सिभिल मल, लाबिङ मल लगायतका शोजहरुमा पनि दर्शकको चाप राम्रो पाइयो’, निर्देशक मुस्कान ढकालले भने, ’बर्षातका बाबजुत दर्शकले दिनुभएको माया र साथले खुशी बनाएको छ, वर्ड अफ माउथ राम्रो छ, फिल्म हेर्ने दर्शकले मुख खुम्च्याएको भेटेको छैन ।’ फिल्मले राजधानी बाहिर नारायणगढ, दाङ, धरान र पोखरामा पनि दर्शकको साथ राम्रो पाएको वितरकले जनाएका छन् ।

सुबिन भट्टराईको प्रेमिल उपन्यासमा आधारिक यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायत लिड अभिनयमा छन् । फिल्मको पटकथा सुबिन र सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कार्यकारी निर्माता बिनोद अधिकारी छन् भने इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठ निर्मातामा छन् । पुष्पन प्रधानको संगीत रहेको फिल्मले सांगितिक रुपमा पनि आफुलाई अब्बल प्रमाणित गरेको छ ।