कपिल शोबाट हटाइए सिद्धु

मुम्बई(एजेन्सी) । भारतीय चर्चित टेलिभिजन शो ‘दी कपिल शर्मा शो’का कलाकार नवजोत सिंह सिद्धु निकालिएका छन् । जम्मू–कश्मीरको पलुवामा भएको आतंकवादी हमलामा उनले दिएको अभिव्यक्ति प्रति विरोध भएपछि उनलाई हटाइएको हो । आक्रमणमा भारतीय सेनाहरूको निधन भएपछि उनले त्यसको विरोध गर्दै एक अभिव्यक्ति दिएका थिए । अब उनको स्थानमा अर्चना पूरण सिंह देखिनेछन् ।

पूर्व क्रिकेटर तथा काँग्रेसका नेता सिद्धुले सञ्चारमाध्यमसँग ‘के केही व्यक्तिको कामका लागि पुरै देशलाई दोष दिन सकिन्छ र ? यो एक कायर हमला थियो । म यो हमलाको कडा किसिमले निन्दा गर्छु । हिंसालाई कुनै पनि किसिमले जायज मानिन्दैन । जसले यो काम गरेका छन्, उनीहरुले सजाय पाउनैपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उनले भारत र पाकिस्तानबीचको द्वन्द्वको स्थायी समाधान खोजिनु पर्ने भन्दै त्यो घटनाका कारण पाकिस्तानलाई जिम्मेवार बनाउन नसकिने बताएका थिए । सिद्धुको टिप्पणी आएपछि सर्वसाधारणले उनलाई शोबाट हटाउनुपर्ने माग राखेका थिए ।