सुहानालाई स्टार पढाउँदै अनमोल

काठमाडौं । नायक अनमोल केसीलाई मेगास्टारका रुपमा प्रस्तुत गर्दै फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्मको ट्रेलरमा अनमोललाई स्टार गायक प्रेम र एउटा सोझो पात्र घनश्याम महर्जनको लुक्समा देखाइएको छ । फिल्ममा अनमोलको रोमान्स झरनापुत्री सुहानासँग हेर्न पाइनेछ ।

फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुले अभिनय गरेका छन् । सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा, सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन छ ।