‘छक्का पन्जा भन्दा फरक छ माया छपक्कै’

काठमाडौं । एक वर्ष अघि फिल्म ‘छक्का पन्जा’को तेस्रो सिक्वेल ‘छक्का पन्जा ३’ ल्याएको निर्माण समूहले नयाँ फिल्म ‘छ माया छपक्कै’को घोषणा गरेको छ । नायिका केकी अधिकारी, निर्देशक दीपेन्द्र लामा र निर्माता रोहित अधिकारीलाई नयाँ सदस्यका रुपमा समूहमा राख्दै फिल्म घोषण गरेको हो । फिल्मको निर्देशन निर्देशक लामाले नै गर्नेछन् । फिल्म आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा निर्देशक लामाले फिल्मको सम्बन्ध ‘छक्का पन्जा’सँग नरहेको बताए । ‘यसमा नयाँ र फरक किसिमको कथा दर्शकले हेर्न पाउनुहुनेछ’, निर्देशक लामाले भने, ‘फिल्म छक्का पन्जा फरक हुनेछ ।’ फिल्मका प्रस्तुतकर्ता दीपकराज गिरीले निर्देशक लामाले राम्रो काम गर्नेमा आफु विश्वस्त रहेको बताए ।

फिल्ममा दिपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, हरि हुमागाईंको छायांकन रहनेछ । फिल्ममा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फाइनल भएका छन् ।