शनिबार आक्रामक दाल भात तरकारी

काठमाडौं । गत शुक्रबारदेखि रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ले शनिबार देशैभर आक्रामक व्यापार गरेको छ । यसले काठमाडौंको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको हो । शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिति बाक्लो थियो भने दिवा शोबाट अधिकांस हल हाउसफुल थिए । बिहानैबाट हरेक शोमा ९५ देखि सय प्रतिशत दर्शकको उपस्थिति देखिन्थ्यो ।

फिल्मका निर्माता किरण केसीले यो व्यापारलाई आक्रामक भन्दै दर्शकलाई धन्यवाद दिए । ‘दर्शक नै हाम्रो भगवान हुन् । जसले हामीलाई आशिर्वाद दिन हलमा आउनुभएको छ’ किरणले उत्साहित हुँदै भने ‘फिल्मले पाएको प्रतिक्रिया र दर्शकको उपस्थितिले हौसला थपेको छ ।’ फिल्मले शनिवार सिंगल र मल्टिप्लेक्स दुवै क्याटेगोरीको हलमा हाउसफुलका साथ् ब्यापार गरेको थियो । समिक्षागत रुपमा मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म हेरेर निस्किएका दर्शकले यसलाई राम्रो भनेका छन् ।

अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई फिल्मले हास्य शैलीमा प्रस्तुत गरेको छ । मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसी शनिबार बिहानैदेखि काठमाडौका विभिन्न हलमा पुगेर दर्शकलसँग साक्षात्कार गरेका थिए ।

सुदन केसी निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत , आँचल शर्मा, पुष्प खड्का, शिवहरी पौडेल, बसुन्धरा भुसाल, रविन तामाङ, किरण केसी, राजाराम पौडेललगायतको अभिनय रहेको छ ।